डडेल्धुरामा दुई चुनावी सभालाई सम्बोधन गरेर देउवा आज काठमाडौँ फर्किँदै

images
  • 47
    SHARES
  • कार्तिक २०, २०७९ आइतबार
    डडेल्धुरामा दुई चुनावी सभालाई सम्बोधन गरेर देउवा आज काठमाडौँ फर्किँदै
    images

    काठमाडौँ ।

    चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार काठमाडौँ फर्किँदै छन् । आज उनी गृहजिल्लाका दुई वटा चुनावी सभालाई सम्बोधन गरी काठमाडौँ फर्किने तयारी रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

    Sherbahadur-deuwa-1-1024x683_20220630122105.jpg

     

    बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।देउवा गत बुधबार मात्र काठमाडौँबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर देउवाले अमरगढी नगरपालिकास्थित बसपार्कको आमसभालाई सम्बोधन गरेका थिए ।

     

    उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरे भने शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।

    देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट सातौँ पटक संघीय संसदका उम्मेदवार छन् । डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ । उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् ।

    डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend