छक्का हान्ने जोश, डक आउट हुने खतरा

images
  • 51
    SHARES
  • कार्तिक २३, २०७९ बुधबार
    छक्का हान्ने जोश, डक आउट हुने खतरा
    images
    एमालेका चुनावी कमान्डर समेत रहेका पार्टी अध्यक्ष ओलीका लागि झापा–५ भन्दा ठूलो टाउको दुखाइ देशभरको निर्वाचन क्षेत्र बन्ने देखिन्छ । अघिल्लोपल्ट माओवादीसँगको गठबन्धनमा ठूलो अन्तरले पहिलो पार्टी बनेको एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अब्बल साबित हुन निकै मिहिनेत गर्नुपर्नेछ ।kp-sharma-oli-in-chitwan-1024x683.jpg
     

    नौ वर्षअघि एमालेका बहालवाला पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दल नेतामा नहराउँदासम्म केपी शर्मा ओली आफ्नै दलभित्रका प्रतिपक्षी नेता जस्ता थिए । उसो त सुरुका वर्षमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई नसघाएका होइनन् ओलीले । सातौं महाधिवेशनमा पुग्दा उनैका प्रतिपक्षी बन्न पुगेका थिए ।

    यसै त प्रतिपक्षी एमाले, त्यसका पनि प्रतिपक्षी नेता ओली । उनको मनोविज्ञानलाई परिस्थितिहरुले प्रतिक्रियात्मक बनाउँदै लगे । विभिन्न चरण गरी १४ वर्षे जेल बसाइबाट निर्मित एकांगी जीवनशैली पनि त्यसमा मिसिएको थियो ।

    खुला राजनीतिमा आएपछि कतिपय समकालीनभन्दा पछि परेका ओली ढिलो गरी केन्द्रीय कमिटीमा पुगे । २०७१ मा एमालेको अध्यक्ष चुनिंदा भने उनले थुप्रै वरिष्ठ र समकालीनलाई उछिनेका थिए । यो बीचमा दुईपटक त प्रधानमन्त्री नै बनिसकेका छन् उनी ।

    त्यसयता राष्ट्रिय राजनीतिमा ओलीले कुनै न कुनै रूपले केन्द्रीय भूमिका खेलेका छन् । २०७२ मा नयाँ संविधान जारी गर्दा नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री थिए । असन्तुष्ट पक्षहरूलाई ध्रुवीकरण गराउने र संविधान ल्याउन सहज बनाउने मुख्य पात्र चाहिं ओली नै बन्न पुगे ।

    महाभूकम्पपछिको पुनर्निर्माण, भारतीय नाकाबन्दीको सामना, मधेशी मोर्चाले मागेको संविधान संशोधनविरुद्ध अड्डी, चीनसँग सम्बन्ध विस्तार, लिपुलेक र लिम्पियाधुरासहित समग्र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा जारी गरेर त्यसलाई शतप्रतिशत संसदीय अनुमोदनका लागि संविधान संशोधन ओलीको प्रधानमन्त्रीत्वकाललाई सम्झाइराख्ने विषय हुन् ।

    उनै ओली बिल्कुलै सोच नमिल्ने माओवादी पार्टीसँग एकता गर्दै नेकपा बनाउने अनि कालान्तरमा विभाजन गर्ने कामको मुख्य भागीदार बन्न पुगे । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम समेतलाई समेट्दै दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने अभूतपूर्व अवसर पाएका ओलीले आफ्नै कारणले त्यसलाई गुमाए ।

    युद्धबाट शान्तिमा आइसक्दा पनि माओवादीको पुरानै उन्माद, अनि दलहरुको दिग्भ्रमका बीच आफूलाई संविधानवाद र लोकतन्त्रको पक्षधरतामा खरो देखाउँदै आएका ओलीले आफ्नो पालाको परीक्षा भने बिगारे ।

    गत चुनाव जितेपछिको दोस्रो प्रधानमन्त्री कालमा उनले दुई–दुई पटक संसद विघटन गराउन राष्ट्रपति संस्थालाई समेत प्रयोग गरे । उनको क्याबिनेटका थुप्रै मन्त्री अशिष्ट बोलीवचन, अनियमिततालगायत प्रकरणमा मुछिंदा एकाधबाहेकलाई कारबाही गरेनन् । बरु प्रतिरक्षामा ओर्लिए ।

    चुनावमा समग्र पपुलर भोटभन्दा विजयी सिटसंख्या महत्वपूर्ण हुन्छ । यस्तोमा सत्ता गठबन्धनलाई एमालेले कसरी सामना गर्ला भन्ने आम जिज्ञासा छ ।

    ओली अहिले भावी प्रधानमन्त्रीको स्वघोषणा साथ यसअघिकै झापा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । संघीय संविधान बन्नुअघि झापा–६ मा पर्ने क्षेत्रसमेत समेट्दै बनेको झापा–५ मा सत्ता गठबन्धनले ओलीका पुरानै प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीलाई मैदानमा उतारेको छ ।

    २०७४ सालमा अधिकारीभन्दा दोब्बर ५७ हजार भोट पाएका ओलीका पक्षमा यसपल्ट पुरानै लहर कायम नरहे पनि जितका लागि तुलनात्मक सहजतामा देखिन्छन् ।

    यसको आधार गत स्थानीय चुनावमा झापा–५ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मत नै हो, जसमा एमाले झण्डै दोब्बरले अगाडि छ । उक्त चुनावमा एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, नेकपा (माओवादी केन्द्र) ले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ हजार ३५३ र नेकपा (एकीकृत समाजवादी) ले १ हजार ९८८ मत पाएका छन् ।

    सत्ता गठबन्धनको चुनौती घटाउन ओलीले राप्रपासँग तालमेल गरिसकेका छन् । राप्रपाले झापा–५ मा ओलीलाई र एमालेले झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउँदैछ ।

    एमालेका चुनावी कमान्डर समेत रहेका पार्टी अध्यक्ष ओलीका लागि झापा–५ भन्दा ठूलो टाउको दुखाइ देशभरको निर्वाचन क्षेत्र बन्ने देखिन्छ । अघिल्लोपल्ट माओवादीसँगको गठबन्धनमा ठूलो अन्तरले पहिलो पार्टी बनेको एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अब्बल साबित हुन निकै मिहिनेत गर्नुपर्नेछ ।

    गत वैशाखको स्थानीय तह चुनावमा ओली नेतृत्वको एमालेले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित धेरै पालिका गुमायो । एमालेले लोकप्रिय मत आफूसँग रहेको दाबी गर्दै आए पनि पालिका सिट संख्यामा दोस्रो स्थानमा खुम्चिएको छ ।

    यो दबावका बीच आफ्नो वर्चस्व बनाउन ओलीलाई मुख्य प्रतिस्पर्धी कांग्रेससहितको सत्ता गठबन्धन मुख्य चुनौती बनेको छ ।

    तत्कालीन नेकपामा सँगै रहेका पूर्ववर्ती एमालेका पार्टी प्रमुखद्वय झलनाथ खनाल र माधवकुमार नेपालले यसबीचमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । माओवादी केन्द्र पूर्ववत् अवस्थामा प्रचण्डको नेतृत्वमा चुनावी मैदानमा छ, जसलाई विगतमा नयाँ शक्ति बनाउँछु भन्दै छुटेका डा. बाबुराम भट्टराईको पनि साथ मिलेको छ ।

    उसो त एकीकृत समाजवादीमा गएका कतिपय नेता–कार्यकर्तालाई यही बीचमा फिर्ता गर्न ओलीले सफल भएका छन् । माओवादीका पनि रामबहादुर थापा, लेखराज भट्टसहित केही नेतालाई एमालेमा समेटेका छन् ।

    चुनावी कार्यक्रम सुरु हुनुभन्दा केही दिन अघिमात्र रातारात जनता समाजवादी पार्टी (जसपा)लाई एमालेसँग तालमेलमा समेटेर सत्ता गठबन्धनभित्रको अन्तर्द्वन्द्वमा खेल्न पनि सफल भए ओली । अनि कांग्रेस, माओवादीका कतिपय उम्मेदवार विरुद्ध उठेका बागी र स्वतन्त्रलाई सघाउने नीति समेत उनले लिएका छन् ।

    यति गर्दैगर्दा पनि ओलीले टिकट वितरणमा उदारता देखाउन सकेनन् । उनले आफूसँग असहमत भीम रावल, घनश्याम भूसाल जस्ता प्रभावशाली नेताहरूलाई टिकट नदिंदाको असर सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै परेको छैन, एमालेका आम समर्थकलाई पनि निराश बनाएको छनक मिल्छ । अध्यक्ष भइसक्दा पनि ओलीको प्रतिक्रियात्मक स्वभाव बाँकी नै छ ।

    अनलाइनखबरले पछिल्लो अन्तर्वार्तामा सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘रूखबाट केही फल खसेर गएको’ पुरानै कथन दोहोर्‍याउँदै त्यसले केही फरक नपार्ने जिकिर गरे । ‘हामी सानदार जित्छौं, ९०–१०० सिट हाम्रो हुनेछ, ६५–७५ अरूको’, उनको दाबी छ ।

    इच्छाशक्ति र आत्मविश्वासमा ओली अरू नेताभन्दा अगाडि देखिएकै हुन् । प्रचण्डलाई गृहजिल्ला चितवनबाट गोरखा पठाएर अनि दार्चुला पुगेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्नै प्रश्न बर्साएर उनले त्यसको सुरुवात पनि गरिसके ।

    शारीरिक प्रतिकुलताबीच उनले देखाएको जोश हेर्नलायक छ । देशैभरिका निर्वाचन क्षेत्रका स्थानीय तह चुनावको नतिजा केलाउँदा भने झापा–५ को स्थितिसँग मेल खाने भेटिंदैन । चुनावमा समग्र पपुलर भोटभन्दा विजयी सिटसंख्या महत्वपूर्ण हुन्छ । यस्तोमा सत्ता गठबन्धनलाई एमालेले कसरी सामना गर्ला भन्ने आम जिज्ञासा छ ।

    त्यसैले हामीले ओलीलाई सोधेका थियौं, ‘होप फर् द बेस्ट, प्रिपेयर फर द वर्स्ट भन्छन्, तपाईं कसरी चुनावमा जाँदै हुनुहुन्छ ?

    उनले उत्तर दिए, ‘रिङभित्र ब्रुस लीले धेरै कुटाइ खाएको, पछारिएको, घाइते भएको देख्नुभएको होला । तर के थाहा होस् भने अन्तिम किक् नै निर्णायक बन्छ । मंसिरको आम निर्वाचन हाम्रा लागि पाँच वर्षको अन्तिम पटाक्षेप हुनेछ । फाइनल किक्, फाइनल गोल, छक्का हुनेछ ।’

    उनले दाबी गरेझैं फाइनलमा छक्का हान्न सक्लान् ? कि डक आउट हुँदै पेभेलियन फर्केलान् ? यस अर्थमा आसन्न चुनावमा ओली–आत्मविश्वासको समेत परीक्षण हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend