तनहुँ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा आफुसंगै काम गर्ने साथीले रडले हान्दा देवघाट गाउँपालिका-२, क्वादीका २४ बर्षिय विरम आलेको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दुलेगौँडा बजारमा रहेको रिमाल अटो केयरमा काम गरी रहेको बेला सर्लाही जिल्ला गौरीशंकर नगरपालिका–५, बगरवा स्थायी घर भई हाल दुलेगौडा बस्ने बर्ष २५ का यन नबिन कुमार चौधरीले एक्कासी पछाडिबाट रडले प्रहार गर्दा गम्भिर घाइते आलेको उपचारको क्रममा मृत्यु भएको हो ।
चौधरीले टाउको र शरीरको विभिन्न भागमा रडले चार/पाँच पटक हानेको देखिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक याम नारायण पौडेलले जानकारी दिए । रड प्रहारपछि गम्भिर घाइते भएका आलेलाई प्रहरीले तत्कालै उद्धार गरी तनहुँ सेवा अस्पताल दुलेगौडामा लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको थियो ।
उपचारको क्रममा रहेका आलेलाई दिउँसो करिब साढे १ बजे अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । शव अहिले अस्पतालमै रहेको छ । घट्नामा संलग्न चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यक्तिगत रिसिईबीको कारण रड प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घट्नाका सम्बन्धमा थप अनुसनन भइरहेको प्रहरीले जनाएकाो छ । आले र चौधरी दुवै जना अटो केयरका कर्मचारी हुन् ।



