नवलपुर,कात्तिक २६-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताउनुभएको छ । गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताउनुभयो । “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भन्नुभयो । केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उहाँले स्पष्ट पार्नुभयो ।




