चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु: नयाँ मतदाता

images
  • 52
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु: नयाँ मतदाता
    images

    कञ्चनपुर, कात्तिक २६-

    कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा हुनुन्छ । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उहाँले बताउनुभयो । “पहिलो पटक भोट हाल्दै छु कस्तो होला के होला भनेर उत्सुकता जागेको छ”, उहाँले भन्नुभयो, “जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु ।”

     
    matadan.webp

    उहाँले आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको बताउनुभयो । गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने उहाँले बताउनुभयो । “हाम्रो देशमा रोजगारीको धेरै समस्या छ, मुख्य कुरा रोजगारीको अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्छु ।”

     

    त्यसैगरी बेदकोट नगरपालिका–७ का राजेश भट्ट पनि पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदै हुनुहुन्छ । उहाँले पनि मतदान गर्न उत्सुकता जागेको बताउनुभयो । “पहिलो पटक मतदान गर्न पाउँदा खुसी छु, मतदान गर्न आतुर पनि छु”, उहाँले भन्नुभयो, “भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु ।” उहाँले मत माग्न घरमा आउने उम्मेदवारले विकासका काम गर्ने आश्वासन दिएको बताउनुभयो । “घरमा सबै पार्टीका उम्मेदवार आएका छन् विकास गर्छौँ, भोट दिनुस् भन्छन”, उहाँले भन्नुभयो, “उम्मेदवारहरुले गर्छु भनेका काम पूरा गर्छन् होला भन्ने लागेको छ ।”

    भीमदत्त नगरपालिका–१८ का धीरज जोशी पनि मत हाल्न आतुर हुनुहुन्छ । तर गाउँमा चोक चौतारोमा सुनिने नेताहरुप्रतिका नराम्रा टिप्पणीले भने नेताहरु आश्वासन मात्रै दिने हुन कि भन्ने भय रहेको उहाँले बताउनुभयो । “नेताहरुको मात्रै विकास हुनु भएन जनताको पनि विकास हुनुपर्छ”, उहाँले भन्नुभयो, “आफूले सोचेजस्तो विकल्प नभए पनि राम्रो सक्षम उम्मेदवारलाई भोट हाल्छु ।” उहाँले मतदान सबैभन्दा ठूलो दान भएकाले उम्मेदवारले यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

    नयाँ मतदाता मात्रै होइन पुराना मतदाता पनि मतदान गर्न आतुर छन् । बेदकोट नगरपालिका–७ का देवकी पन्त आउँदो मङ्सिर ४ मा चौथो पटक मतदान गर्दै हुनुहुन्छ । “अघिल्लो निर्वाचनमा मत दिएकाले राम्रो काम गर्न सकेनन् यसपटक मत परिवर्तन गर्छु”, उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु ।” चुनावी मिति नजिकिर्दै गर्दा निर्वाचन आयागले तयारी अन्तिम चरणमा पुगाएको छ । उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend