एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि, आर्मी पराजित

images
  • 45
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि, आर्मी पराजित
    images

    २६ कात्तिक, काठमाडौं ।

    डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ ।

    सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो ।

    APF-PM-cup-cricket-Champion-trophy-1024x624.jpg

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

    एपीएफलाई जिताउन भुवन कार्कीले ५५ तथा सुमित महर्जनले ३४ रन बनाए । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए ।

    आर्मीका जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, विक्रम सोब र सुसन भारीले समान १ विकेट लिए ।

    यसअघि विवादका कारण ढिलो गरी सुरु भएकाले ४० ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरको आर्मीले ३९ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो ।

    आर्मीका रोहित पौडेलले ४९ रन बनाए । टिमको स्कोर १३२ रन भएको अवस्थामा रोहित नवौं विकेटका रुपमा आउट भएका थिए । त्यसपछि अन्तिम विकेटका लागि सुशन भारी र जितेन्द्र मुखियाले ४८ रनको महत्वपूर्ण साझेदारी गरेर आर्मीलाई सम्मानजनकस्थितिमा पुर्‍याएका थिए ।

    भारी १९ रनमा आउट भए भने मुखिया २४ रनमा नट आउट रहे । राजेश पुलामी १८ र कुशल मल्ल १६ रनमा आउट भए ।

    एपीएफका अमर रौतेला र मौसम ढकालले समान ३ तथा किशोरी महतोले २ विकेट लिए ।

    विजेता एपीएफले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सेमिफाइलमा पुगेका नेपाल पुलिस क्लब र मधेश प्रदेशले ५०-५० हजार रुपैयाँ पाएका छन् ।

    त्यस्तै सर्वोत्कृष्ट खेलाडी बन्दै दीपेन्द्र सिंह ऐरीले ५० हजार जितेका छन् । उत्कृष्ट ब्याट्सम्यानको उपाधिसमेत पाएका उनले थप २० हजार पनि पाए । उत्कृष्ट बलर बनेका करण केसीले २० हजार र उदीयमान खेलाडी मौसम ढकालले पनि २० हजार पाए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend