तनहुँ — व्यास नगरपालिका–१, गल्बुबेसीका ८० वर्षीय प्रेमबहादुर खत्री कांग्रेस नेता रामचन्द्र पौडेलका दौंतरी हुन् । पौडेल चुनावको धपेडीले थकित भइरहँदा उनी भने दिनभर दमौली बजारको अनशन चौतारीमा गफिँदै बस्छन् । ‘पहिले चुनावको दुई–चार दिन अगाडि आएर भोट माग्थे, जितिहाल्थे,’ शनिबार दिउँसो अनशन चौतारीमै भेटिएका खत्रीले भने, ‘यसपालिको चुनावमा बहुतै दु:ख गरेका छन्, जिल्ला छाडेका छैनन् ।’

तनहुँको भानु-२ मा घरदैलोमा निस्केका कांग्रेस नेता रामचन्द्र पौडेल । तस्बिर : सम्झना रसाइली/कान्तिपुर
कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार पौडेलका लागि कैंची चुनाव चिह्न लिएर लडेका पूर्वकांग्रेस नेता गोविन्दराज जोशी पहिलो चुनौती बनेका छन् । प्रतिनिधिसभाको गत निर्वाचनमा बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसले ०७७ साउनमा ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । तैपनि तनहुँ कांग्रेसमा जोशीको प्रभाव घटेको छैन । ‘उहाँ (जोशी) को प्रभाव त बढेको छैन, तर उत्पात पनि कम भएको छैन,’ खनाल भन्छन्, ‘हाम्रा लागि सबैभन्दा ठूलो चुनौती नै जोशीको उम्मेदवारी हो ।’
तनहुँ–१ मा कांग्रेस एक्लैको मत एमालेभन्दा करिब १० हजारले बढी छ । त्यसमा गठबन्धनका साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीको मत थपिएको छ । पार्टी सचिव खनाल जोशीले कांग्रेसको करिब १० हजार काटे पनि गठबन्धनबाट थपिने मतले पौडेल विजयी हुने दाबी गर्छन् । सत्ता गठबन्धन निर्माणको प्रमुख नेता भएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीले पौडेललाई धोका नदिने उनको विश्वास छ । ‘जोशीले कांग्रेसको मत लिनेमा कुनै शंका छैन, तर गठबन्धनका अन्य दलले धोका दिने सम्भावना नरहेकाले चुनाव जितिन्छ भन्ने विश्वासमा छौं,’ उनले भने ।
०४८ देखि तनहुँबाट निरन्तर चुनाव जित्दै आएका पौडेल पहिलो पटक ०७४ को निर्वाचनमा एमाले (हाल एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठसँग ६ हजार ८ सय २ मतान्तरले पराजित भएका थिए । उतिबेला पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । तर निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उनले श्रेष्ठलाई सहयोग गरेर जिताएका थिए । सोही आरोपमा कांग्रेसले जोशीलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो ।
जोशी पार्टीमा नरहे पनि पार्टीको असन्तुष्ट पक्ष र जनस्तरमा रहेको बलियो प्रभावका कारण पौडेलले चुनौती महसुस गरिरहेका छन् । गत स्थानीय तह निर्वाचनमा जोशीले आफ्नो छोरा दीपकराज जोशीलाई व्यास नगरपालिकाको मेयरमा कैंची चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार बनाएका थिए । एमालेको समेत सहयोग रहेका दीपकराज कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मतान्तरले पराजित भएका थिए । जोशीको व्यास नगरपालिकामा पर्ने दमौली बजार र भानु नगरपालिकाको रूपाकोट क्षेत्रमा बलियो पकड रहेको छ । दीपकराजले विगतमा गरेको कामका कारण अहिले पनि आफ्नो बुबाको प्रभाव जनस्तरमा बलियो रहेको दाबी गरे । ‘बुबाले आफू शक्तिमा भएका बेला जिल्लामा सडक, शिक्षालगायतमा देखिने काम गर्नुभयो । उहाँले गरेको कामलाई बिर्सिने गरी अरू नेताले काम गर्न सकेनन्,’ उनले कान्तिपुरसँग भने, ‘त्यसैले पार्टीभित्र र राज्यबाट ठूलो षड्यन्त्र हुँदा पनि जनताको मनमा बस्न सक्नुभएको छ ।’
गोविन्दराज जोशीले शिक्षामन्त्री भएका बेला तनहुँमा करिब ३ सय विद्यालय खोलेका थिए । कांग्रेस जिल्ला सचिव खनाल त्यसरी खोलिएका विद्यालय जोशीको राजनीतिमा बलियो आधार बनेको बताउँछन् । ‘उतिबेला राखिएका शिक्षक र गाउँकै विद्यालयमा अध्ययनको अवसर पाएका विद्यार्थी जोशीका लागि बलिया आधार बनेका छन्,’ उनले भने, ‘यस्तै कारणले पार्टी र राज्यसत्तामा नरहे पनि उहाँको प्रभाव कायमै भएको हुन सक्छ ।’ जोशी बलियो भइरहनु पौडेलका लागि चुनौती भएको उनले बनाए ।
पौडेलका लागि दोस्रो चुनौती युवा पुस्ता र नयाँ मतदातासँग उनको घुलमिल कम हुनु हो । राष्ट्रिय राजनीतिमा सक्रिय भइरहनुपर्ने कारणले पौडेल गृहजिल्लामा कमै बस्ने गर्छन् । देशको शीर्ष नेता भए पनि गाउँका समस्यासँग पर्याप्त परिचित हुन नसक्नु उनको कमजोरी रहेको कांग्रेसकै एक जिल्लास्तरीय नेता बताउँछन् । उनका अनुसार पौडेलले जिल्लामा बाक्लो आवतजावत थालेकै गत स्थानीय तहको निर्वाचनपछि मात्र हो । ‘गाउँमा बस्ने नयाँ पुस्तासँग उहाँको चिनजान हुन सकेन । पुरानो पुस्ताका कोही जोशीतिर लागेका छन्, कोहीसँग सम्पर्क नै छैन,’ उनले भने, ‘त्यसैले यस पटकको चुनावमा धेरै दौडधुप गर्नुपरेको हो ।’
पौडेलको दौडधुप यति धेरै छ कि, गठबन्धनको शीर्ष नेता भए पनि उनले पार्टी र गठबन्धनका तर्फबाट अन्य जिल्लाका चुनावी सभामा जान पाएका छैनन् । उनी असन्तुष्ट र सम्पर्क टुटेका कांग्रेस कार्यकर्तालाई रिझाउन घरदैलोमा व्यस्त देखिन्छन् । शनिबार मात्र उनले व्यास नगरपालिकाका करिब एक दर्जन बस्तीमा घरदैलो भ्याएका थिए । व्यास–१२, छिर्काने भन्ज्याङको घरदैलोमा सहभागी भएका कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजकुमार श्रेष्ठले पौडेलको चुनावी अभियान अत्यन्तै चुस्त र सूक्ष्म रूपमा भइरहेको बताए । ‘जनताको घरघरमै पुगिरहनुभएको छ, यसले जनतासँगको सम्बन्ध थप मजबुत बनाएको छ,’ उनले भने ।
जिल्लाको विकासलाई जोडेर गरिने आलोचना पौडेलका लागि अर्को चुनौती हो । उनी पटक–पटक मन्त्री, उपप्रधानमन्त्री र सभामुख भए । तर जिल्लामा देखिने गरी विकास ल्याउन नसकेको आरोप उनले खेपिरहेका छन् । यस पटक पनि प्रमुख प्रतिस्पर्धी एमाले र जोशीले पौडेलमाथि ‘काम गर्न नसक्ने नेता’ भन्दै जनमत भड्काइरहेका छन् । पौडेलमाथि लागेका यी आरोपको खण्डन गर्न उनको चुनावी टिमलाई हम्मे भइरहेको छ । नेपाल सरकारको इन्जिनियरिङ सेवाबाट भरखरै अवकाश पाएका भानु नगरपालिका–५ का विश्वराज पौडेल विगतमा पौडेलले तत्कालीन क्षेत्र नं २ मा विकासका राम्रा काम गरेका तर क्षेत्र अदलबदलका कारण विकास गर्न नसकेको आरोप खेप्नुपरेको बताउँछन् । ‘गाउँ–गाउँमा जाने अधिकांश सडक उहाँले नै बनाउनुभएको हो, बरु अन्य नेताको क्षेत्रमा विकास हुन नसक्दाको आरोप खेपिरहनुभएको छ,’ उनले भने ।
कांग्रेस जिल्ला सचिव खनाल तनहुँ हाइड्रो र दमौली–पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गजस्ता दीर्घकालीन महत्त्वका विकास योजना पौडेलकै पहलमा भएको बताउँछन् । विकास कार्यको सही रूपमा प्रचारप्रसार हुन नसक्दा केही पनि काम नगरेजस्तो देखिएको उनले बताए । ‘पौडेल पटक–पटक मन्त्री भए पनि प्रधानमन्त्री, अर्थमन्त्रीजस्तो बजेट छुट्याउने भूमिकामा कहिल्यै रहनुभएन, यसले गर्दा पनि सोचेजस्तो गर्न नसक्नुभएको होला,’ उनले भने ।
कांग्रेसभित्रको अविश्वासले पनि पौडेललाई चुनौती थपेको छ । तनहुँमा पौडेलविरुद्ध कांग्रेसका तीनथरी असहयोगी पक्ष देखिन्छन् । एउटा पक्ष कारबाही खेपेर भए पनि जोशीसँग खुलेरै लागेको छ । पार्टीका पूर्वजिल्ला सचिव विश्व बाँस्तोला, चूडामणि दाहाल, महेश्वर भट्टराईलगायत नेताहरू जोशीको प्रचार अभियानमा सक्रिय छन् । अर्को पक्ष विगतमा पौडेल–जोशी टकरावमा जोशीको समूहमा आबद्ध तर अहिले पार्टीमै रहेकाहरू छन् । ती नेताहरू चुनाव प्रचारप्रसारमा खासै देखिँदैनन् । पौडेल–जोशीको पुरानो टकरावमा पार्टीको केन्द्रबाट सिर्जित गुटले समस्यालाई थप बल्झाएको छ । सभापति शेरबहादुर देउवानिकट शंकर भण्डारी र नेता कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललगायत नेताहरूले पनि जिल्लाको पार्टी राजनीतिमा शक्ति अभ्यास गरिरहेका छन् । पार्टीका एक जिल्ला पदाधिकारीले कांग्रेसको आन्तरिक किचलोले पनि पौडेललाई असर पार्ने बताए । ‘सोझो हिसाबले हेर्ने हो भने त कांग्रेसको एक्लै मतले एमालेलाई जित्न पर्याप्त छ, तर आफैंमा विश्वास नभएर मिहिनेत गर्नुपरिरहेको छ,’ ती नेताले भने ।
तनहुँ–१ मा अहिलेको अवस्था हेर्दा पौडेल–जोशी–रानाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । तर अन्तिम समयमा जोशी र रानाबीच साँठगाँठ हुने सम्भावनाबारे पनि जिल्लामा चर्चा हुने गरेको छ । एमालेका एक नेताका अनुसार गत स्थानीय तह निर्वाचनकै बेला जोशी र एमालेबीच संसदीय निर्वाचनमा पनि सहकार्य गर्ने भद्रसहमति भएको थियो । ‘यस पटक उम्मेदवारी दिँदा के–के गडबडी भयो थाहा हुन सकेन, तर मतदानको दिनसम्म सहमति हुने सम्भावनालाई नकार्न मिल्दैन,’ ती नेताले भने ।
यिनै चुनौतीबीच ७८ वर्षीय नेता पौडेल आफ्नो राजनीतिक जीवनको सम्भवत: अन्तिम चुनावी अभियानमा खटिइरहेका छन् । उनको चुनावी दौडाहा र खटाइ पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएको कुनै युवा उम्मेदवारको भन्दा कम देखिँदैन । कांग्रेस जिल्ला सचिव खनाल सत्ता गठबन्धनको मत धेरै भए पनि विभिन्न चुनौतीका कारण बढी मिहिनेत गर्नुपरेको स्विकार्छन् । ‘चुनौती नभएको भए यो स्तरको राष्ट्रिय नेताले आफ्नो निर्वाचन क्षेत्रमा यति धेरै मिहिनेत गर्नुपर्ने थिएन,’ उनले भने, ‘उहाँले मात्र होइन, पार्टीले चुनाव जित्नका लागि सबै प्रयास गरिरहेको छ ।’



