नेपालले पाकिस्तानसँग उच्च मनाेबलका साथ खेल्छ : राेहित चन्द

images
  • 162
    SHARES
  • कार्तिक २९, २०७९ मंगलबार
    नेपालले पाकिस्तानसँग उच्च मनाेबलका साथ खेल्छ : राेहित चन्द
    images

    काठमाण्डाै

    नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानसँगकाे खेलमा नेपाली टोलीले उच्च मनोबलका साथ खेल्ने बताएका छन् । 

     
    आज मङ्गलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधवार हुने खेलमा नेपाली टोली सुखद नतिजाका लागि खेल्ने बताएका हुन् । फिफाको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बङ्गलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र त्यही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् । 

    त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेलमा आफूले कप्तानी पाउँदा खुसी लागेको तर नेपालका लागि खेल्न पाउनु नै आफ्ना लागि ठूलो कुरा रहेको समेत बताए ।

    नेपाललाई पाकिस्तानले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलका लागि गएकाे आइतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच आठ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र बाह्य शक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो । त्यही टोली पाकिस्तानसँगकाे खेलमा नेपाली टाेलीले सुखद नतिजाका लागि खेल्ने कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेका कारण व्यक्तिगतरूपमा राम्रो भएको भए पनि लामो समय एउटै टोली बनेर नखेलेका कारण टिमवर्क राम्रो नभएको र त्यहीअनुसार आफूले रणनीति बनाएको बताए ।

    यस्तै नेपाल भ्रमणमा रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालसँगकाे खेलमा राम्रो इतिहास भएको र त्यही इतिहासलाई दोहोर्‍याउनका लागि खेल्ने बताए । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीसँग राम्रो खेल्ने उनकाे भनाइ छ । 

    नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले पाँच खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनशिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल दुई–एक गाेलले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रङ्गशालामा आयोजना हुन लागेको ५० औँ अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

     

    अन्तिम अपडेट: कात्तिक २९, २०७९

  • सम्बन्धित विषय:

  • # नेपाली फुटबल
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend