संखुवासभा –
संखुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृतसहित १७ जना कारबाहीमा परेका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृत ६ जना र सहायक कर्मचारीहरु ११ जना गरी कूल १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जिवी अधिकारीले बताउनुभयो । उहाँका अनुसार, आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गरी हटाइएको हो ।
कारबाहीमा पर्ने मतदान अधिकृतहरु सबै शिक्षकहरु हुन् । यस्तै सहायक कर्मचारीहरुमध्ये पनि १० जना शिक्षक र एक जना निजामती कर्मचारी रहेको संयोजक अधिकारीले बताउनुभयो । कारबाहीमा पर्ने १७ जना कर्मचारीको नाम भने गोप्य राखिएको छ । योसँगै अन्य ३० भन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरीहरु परेका छन् । ती उजुरीमाथिसमेत छानबिन भइरहेको छ ।
कुनै पनि पार्टीका उम्मेदवारको सामाजिक सञ्जालमा शेयर गरिएका पोष्टरमा लाइक, शेयर र कमेन्ट गर्न नपाउने नियम छ । तर कतिपयले त्यस्तो काम गरेको भन्दै प्रमाणसहित लिखित उजुरी आएपछि उनीहरुले हटाएको आचारसंहिता समितिले जनाएको छ ।



