२ मंसिर, बाजुरा
बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए । मृत्यु भएका पाँच जनाको नाम हटाउँदा ५५ जना कायम भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।
बाजुराको सर्वाधिक विकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानीय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो । २०७४ सालको पहिलो चरणको स्थानीय चुनाव अगावै गुम्बा गाउँवासीले मतदान गर्न जाँदा बास बस्नुपर्ने बाध्यताको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले गुम्बा गाउँको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरेको थियो ।
गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रो पटक मतदान गर्ने भएका छन् । गुम्बा गाउँका ८५ वर्षीय छिरिङ्ग धोर्चे लामाले गाउँमै मतदान केन्द्र स्थापनापछि भएपछि खुसी लागेको बताए । अर्का स्थानीय सदस्य जगत बहादुर लामाले विगतमा मतदान गर्नबाट बञ्चित हुँदै आएकाहरुले पनि अब गाउँमा मतदान गर्ने बताए ।
बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये चार मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् । ४३ वटालाई अति संवेदनशील र २३ वटालाई संवेदनशील मतदानस्थलको सूचीमा राखेको उनले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करीव दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिएका छन् । बाजुरा जिल्लामा ८३ हजार ५६७ मतदाता छन् ।



