नवलपुर, मंसिर २
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एउटा मतदानस्थल नै महिलामैत्री बनाइएकोे छ । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने रामग्राम नगरपालिका–१ को सयपत्री बोर्डिङ स्कुलको मतदानस्थल महिलामैत्री बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार सयपत्री स्कुलको मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । “हामीले सयपत्री स्कुलको मतदानस्थल महिलामैत्री निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “दुईवटा केन्द्र रहेको यसस्थलमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी सबै महिलालाई मात्रै खटाएका छौँ ।” उक्त बोर्डिङ स्कुलको ‘क’ मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेको र यहाँ मतदान अधिकृतको रुपमा कुमारी केसीलाई खटाइएको निर्वाचन अधिकारी खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यहाँ प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा नेपाल प्रहरी र म्यादी प्रहरीका सबै सुरक्षाकर्मी महिला नै परिचालन गरेका छौँ ।” उक्त मतदानस्थलको सुरक्षाका लागि १३ सुरक्षाकर्मी परिचालन गरिएकामा सबै महिला रहेका प्रहरी उपरीक्षक कँडेलले जानकारी दिनुभयो । नवलपरासी क्षेत्र नम्बर २ मा एक लाख २६ हजार छ सय ८० मतदाता छन् । रासस



