गोरखा, मंसिर २
प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
“मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भन्नुभयो”, “त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।”
प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उहाँको भनाइ छ ।
गोरखा जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता छन् । जसमा ५८ हजार २२ जना महिला र ५७ हजार तीन सय ७५ जना पुरुष छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार दुई सय ४० मतदाता छन् । दुई नम्बर क्षेत्रमा रहेका कूल मतदातामध्ये ५२ हजार तीन सय ९९ जना पुरुष र ५२ हजार आठ सय १४ महिला मतदाता छन् । रासस



