काठमाडौँ, मंसिर ३-
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिनुभएको हो ।
व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उहाँको निर्देशन छ ।
मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न आग्रह गर्दै उहाँले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा नपर्न समेत भन्नुभएको छ ।
मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
“तपाईंको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नोस्, छातीमा हात राखेर निर्णय गर्नोस् । तपाईंको कामले तपाईं आफैँ लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ”, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “तपाईं जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ । म तपाईंहरु सबैलाई विश्वास सुम्पन चाहन्छु र सम्पूर्ण सफलताको कामना गर्दछु ।”रासस



