ढुक्क भएर मतदान गर्न आयोगको अपिल, गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै कारबाही हुने

images
  • 87
    SHARES
  • मंसिर ३, २०७९ शनिबार
    ढुक्क भएर मतदान गर्न आयोगको अपिल, गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै कारबाही हुने
    images

    काठमाण्डाै

    निर्वाचन आयोगले मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपिल गरेको छ । मतदानको अघिल्लो दिन आज आयोगमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

     

    थपलियाले भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरी आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि आग्रह गर्नुभएको छ । सकभर सबै कर्मचारी र नागरिकले मतदानमा भाग लिन पाउन भनेरै सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिएको उल्लेख गर्दै थपलियाले आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने अधिकारको पूर्ण उपयोग गर्न अपिल गर्नुभयो ।

    मतदातालाई मतदान केन्द्रमा जान नदिने, मतपत्र वा मतपेटिका लुट्न खोज्ने, मतपत्रको दुरुपयोग गर्ने, मत दिएको फोटो भिडियो खिच्ने, पटक पटक मतदान गर्न खोज्ने र मतदान कक्षमा जान खोज्ने अनधिकृत व्यक्ति लगायतलाई तत्कालै कडा भन्दा कडा कारबाही गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

    मतदानको ४८ घण्टा अघिदेखि सुरु भएको प्रचार प्रशार निषेधको अवधिमा काुनन पालना भए/नभएको विषय आयोगले विशेष सुक्ष्म अनुगमन गरिरहेको र सञ्चारमाध्यम र सामाजिक सञ्जालका सूचनालाई समेत जानकारी लिएर नियमन र निगरानी गरिरहेको पनि उहाँले बताउनुभयो ।

    चुनावको स्वच्छता र निष्पक्षतामा कतैबाट प्रश्न नउठ्नेगरी काम भइरहेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई सहयोग गरिदिन सबै निकाय र मतदातासँग आग्रह पनि गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend