काठमाडौँ, मंसिर ३
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
कारागार कार्यालय जगन्नाथदेवलमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको कार्यालयका उपसचिव वेदप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँले निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझेर ल्याइएको बताउनुभयो । आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।
आयोगले यसपटकदेखि मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाएको छ ।
त्यसका लागि देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो । देशभर चार लाख ५० हजार अस्थायी मतदाता छन् ।रासस



