मुगु -
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको चुनाव मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन गर्न समय लागेकाले मतगणना कार्य ढिलो गरी सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।
'मुगुमा चार पालिका मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो' उहाँले भन्नुभयो, 'मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पुर्याइएको थियो ।' प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान साढे ८ बजेदेखि मतगणना सुरु भएको बताउनुभयो ।
उहाँका अनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ ।



