भारतले आगामी गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने

images
  • 90
    SHARES
  • मंसिर ११, २०७९ आइतबार
    भारतले आगामी गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने
    images

    काठमाडौं

    इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी आगामी वर्ष अर्थात् सन् २०२३ भारतको गणतन्त्र दिवसमा आयोजना हुने परेडमा प्रमुख अतिथि हुने भएका छन् । भारतको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इजिप्टका राष्ट्रपति देशको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी दिएको छ ।

     

    भारत र इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको र यस वर्ष दुई देशले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ मनाउन लागिएको पनि विज्ञप्तिमा उल्लेख छ । भारतका विदेश मन्त्री एस जयशंकरले अक्टोबर १६ को इजिप्टको भ्रमणको क्रममा सिसीलाई भारतीय प्रधानमन्त्रीतर्फबाट औपचारिक आमन्त्रण दिएका थिए ।

     

    इजिष्टका राष्ट्र प्रमुखलाई आमन्त्रण गरेर नयाँ दिल्लीले अरब विश्व आफ्नो प्राथमिकतामा रहेको कुरामा प्रकाश पारेको विश्लेषण गरिँदैछ । यस विषयका जानकारहरुले भारतले यो वर्ष अरबी मुलुकहरूमा उच्चस्तरीय भेटवार्ताको तयारी भईरहेको बताएका छन् ।

     

    जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवस समारोहमा बोलाईने प्रमुख अतिथि भारतका घनिष्ठ सहयोगी तथा साझेदार मुलुकका राष्ट्र प्रमुख हुने गर्छन् । सन् २०२१ र २०२२ का समारोहहरूमा प्रमुख अतिथिहरू थिएनन् । त्यसको कारण कोरोना महामारीको उत्पन्न अवरोधलाई देखाइएको थियो । सन् २०२० ब्राजिलका तत्कालीन राष्ट्रपति जैर बोल्सोनारो गणतन्त्र परेडमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

    ६८ वर्षीय पूर्व जनरल र हालका राष्ट्रपति अल–सिसी गणतन्त्र दिवस समारोहमा सहभागी हुने पहिलो इजिप्टेली नेता हुदैंछन् । यी दुई मुलुक सन् १९६१ मा मुलुक असंलग्न आन्दोलनका सस्थापक मुलुक भएका नाताले दशकौंदेखि घनिष्ट छन् ।

     

    साउदी अरब,ओमन र संयुक्त अरब इमिरेट्सका लागि भारतका राजदूतका रहिसकेका ताल्मिज अहमदले सिसीलाई निमन्त्रणा दिएर भारतले इजिप्टको गम्भीर आर्थिक सङ्कटपछिको पुनरुत्थान,यसको स्वतन्त्र विदेश नीतिलाई अनुमोदन गरेको बताए ।

    ‘इजिप्टले अरब क्रान्तिको प्रतिरोध र पछि गम्भीर आर्थिक संकटको सामना गर्यो । तर केही वर्ष यता इजिप्टले आर्थिक पुनरोदय गरेको छ र क्षेत्रीय प्रभाव विस्तार गर्न थालेको छ । इजिप्टले सिरिया,यमन र टर्कीसँगको सम्बन्धमा अन्य खाडी मुलुकबाट स्वतन्त्र नीति लिईरहेको देखिन्छ । इजिप्टले इराक र इरानसँग पनि अलग रुपमा अघि बढिरहेको छ ,’ पूर्व राजदूत अहमदले थपे ।

    भारतले इजिप्टलाई अफ्रिका र पश्चिम एशियाबीचको सेतुको रूपमा हेर्ने गर्छ । पश्चिम एशियालाई नयाँ दिल्लीले आफ्नो विस्तारित छिमेकीको रुपमा हेर्छ । इजिप्ट परम्परागत रूपमा अफ्रिकामा भारतको सबैभन्दा महत्वपूर्ण व्यापार साझेदारमध्ये एक हो । सन् २०२०–२१ मा इजिप्ट भारतको आठौं ठूलो व्यापारिक साझेदार थियो ।

    भारत र इजिप्टबीचको द्विपक्षिय व्यापार सन् २०१२–१३ मा सबैभन्दा उच्च करिब ५.४५ अर्ब डलर पुगेको थियो । तर आर्थिक मन्दी र तेलको मूल्यमा आएको गिरावटका कारण यो व्यापार २०१६–१७ मा ३.२३ अर्ब डलरमा झर्यो । सन् २०१७–१८ बाट फेरी व्यापार बढ्न थालेको छ,जुन सन् २०२०–२१ सम्ममा ४.१५ अर्ब डलर पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend