काठमाण्डौ, मंसिर – १३
राष्ट्रिय भूमि आयोग जिल्ला काठमाण्डौले सुकुम्वासीको उचित व्यवस्थापनविना नै काठमाण्डौ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटीरूपमा अघि बढेको पाइएको आयोगको भनाइ छ ।
अध्यक्ष कक्षपतीले हिजो (सोमवार) विना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती छिरेको भन्दै त्यस बस्तीमा त्रास पैदा भएको बताउनुभयो । उहाँले यस्ता गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताउनुभयो ।
अध्यक्ष प्रजापतीले सुकुम्वासीका लागि इचंगुनारायणमा बनाइएको अपार्टमेन्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताउनुभयो । उहाँले यसअघि पनि त्यो अपार्टमेन्टमा पुगेका सुकुम्वासीलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको बताउनुभयो । त्यस अपार्टमेन्टमा एक सय ३४ परिवार राख्ने कुरा रहेको भए पनि आयोगले लगत सङ्कलन गरेपछि मात्रै यति नै सुकुम्वासी छन् भन्ने यकिन हुने बताउनुभयो ।
सोमवारदेखि आन्दोलनरत थापाथली सुकुम्वासी बस्तीका बासिन्दा भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए । सुकुम्वासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि फेरि त्यही ठाउँमा बस्ने बताउनुभयो । उहाँले विना विकल्प जबरजस्ती उठाउन नहुने र सधैँका लागि सबै सुकुम्वासीको समस्या समाधान हुनुपर्ने माग गर्नुभयो ।
सुकुम्वासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ति छ । केही समयअघि मात्रै उनीहरू काठमाण्डौ महानगरपालिकाको गेटमा प्रदर्शन र नाराबाजीमा निस्किएका थिए । उनीहरूले सरकार निकम्मा भएको भन्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले सुकुम्वासी बस्ती प्रवेश गर्ने सबै सडक बन्द गराएका छन् भने सडकभर टायर र ढुङ्गा छरपस्ट देख्न सकिन्छ ।
एकीकृत बागमती सभ्यता विकास समितिले यही मङ्सिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । त्यहीअनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ ।



