कावासोती, मंसिर-१४
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् ।
यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार चार सय ९६ मत खसेको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं १९१०मा कूल खसेको मत ४१ हजार दुई सय ३१ मा तीन हजार एक सय ६४ मत बदर भएका छन् भने क्षेत्र नं १९२०मा कूल खसेको मत ४५ हजार एक सय चारमा तीन हजार दुई सय १९ मत बदर भएका भुसालले बताउनुभयो । प्रदेशसभाको क्षेत्र नं २९१०मा कूल खसेको मत ४२ हजार तीन सय ९७ मा एक हजार नौ सय ७८ मत र क्षेत्र नं २९२०मा कूल खसेको मत ४२ हजार छ सय २८ मा एक हजार सात सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिनुभएको हो ।
धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।” यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका थिए ।



