काठमाण्डौ
नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आइतवार बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिनुभयो ।
नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताउनुभयो । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक भोलि सोमवारका लागि बोलाइएको छ ।
बैठकले चुनावसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिनुभयो । सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उहाँले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको बताउनुभयो ।



