२७ मङ्सिर, तुलसीपुर
दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ ।
उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ ।
त्यस्तै कित्ता नं ५ (ख)कै ५४५ मा तीन कठ्ठा जग्गा छ । जहाँ १९ वटा घर बनेका छन् । त्यस्तै कित्ता नं ५(ख) ५४६ मा ११ कठ्ठा जग्गा छ । जहाँ ३६ घर बनेका छन् । तीमध्ये केही उपमहानगरपालिकाको संरचना रहे पनि अधिकांश जग्गा अतिक्रमणमा परेको छ ।
उनले अबको एक हप्तामा लगत सङ्कलन कार्य सकिनेसमेत बताए । लगत सङ्कलन गरेर आफूहरूले कार्यपालिकामा पठाउने उनको भनाइ छ ।
कार्यपालिकामा पठाएपछि एकपटक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। ‘लगत सङ्कलन केही दिनमा सकिन्छ, त्यो सकिएमा हामीले एकपटक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउँछौं’, उनले भने, ‘त्यो बैठकले के निष्कर्ष निकाल्छ, त्यहीअनुसार हामी अघि बढ्छौँ ।’
उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर सूचना प्रकाशित भएको ३५ दिन कटिसक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराइरहेका छन् । तर आफूहरू नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख खड्काले बताए ।
आफ्नो सम्पत्ति संरक्षण गर्नुपर्ने दायित्व भएकाले यो कदम अघि बढाएको उनको भनाइ छ । तीमध्ये कोही सुकुम्बासी भएमा उनीहरूलाई निश्चित ठाउँमा व्यवस्थापन गर्नेसमेत उनले बताए ।
केहीले विसं २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेको भए पनि पछिल्लो समय भाडा पनि नतिरेको पाइएको प्रमुख खड्काले बताए।
सूचना प्रकाशनपछि केही व्यक्ति कार्यालयमा आएर छुट गरेर भाडा तिर्नेसमेत प्रतिबद्धता जनाएको तर, त्यो पनि अब लगत सङ्कलनपछि बोलपत्रमार्फत गर्न सकिने बताए ।
उपमहानगरपालिकाकै जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको उनले बताए ।



