बागमती प्रदेश सभा सचिवालय अपांग मैत्री बनाउन आग्रह

images
  • 85
    SHARES
  • मंसिर २७, २०७९ मंगलबार
    बागमती प्रदेश सभा सचिवालय अपांग मैत्री बनाउन आग्रह
    images

    २७ मंसिर, हेटौंडा

    राष्ट्रिय अपा‌ंग महासंघ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ ।

    प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरुलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरुले माग गरेका हुन् ।

    महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित अपाङ्गता भएकी लक्ष्मी घिमिरेलाई प्रदेश सभामा गर्नुपर्ने नियमित कामकारवाही सहज हुने गरी संरचनाहरु निर्माण गरिनुपर्ने बताए ।

    मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेश सभा सदस्यमा स्पाइनल इञ्जुरी भएकी रामेछापकी घिमिरे निर्वाचित भएकी थिइन् । उनी ह्वीलचेयरको सहायतामा हिँडडुल गर्ने गरेकी छिन् ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश सभा सचिवालयका सचिव खड्काले प्रदेश सभाको सभाहल अपांगमैत्री रहेको जानकारी गराएका थिए । उनले समितिका कार्यालयहरु, संसदीय दलको कार्यालय र चमेनागृह लगायतका पूर्वाधारलाई तत्काल अपांगमैत्री बनाउन निर्देशन समेत दिए । उनले घिमिरेको सपथ ग्रहणलाई सहज बनाउन स्टेज समेत सोही अनुसार बनाइने बताए ।

    सांसद घिमिरेको सहजताका लागि स्वकीय सचिवलाई छुट्टै अधिकारसहित सभा हल र संसदीय समितिको बैठकहरुमा समेत आवतजावतको वातावरण तयार गर्न पहल गर्ने सचिव खड्काले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend