चितवनबाटै सवारी लाइसेन्स वितरणका लागि आर्थिक प्रस्तावको फाइल खोलियो

images
  • 74
    SHARES
  • पौष १, २०७९ शुक्रबार
    चितवनबाटै सवारी लाइसेन्स वितरणका लागि आर्थिक प्रस्तावको फाइल खोलियो
    images

    चितवन

    चितवनबाटै सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) वितरणका लागि ट्रायल सेन्टरले पेश गरेको आर्थिक प्रस्तावको फाइल खोलिएको छ ।

     

    आज (शुक्रबार)  बिहान जिल्ला प्रशासन कार्यालयमा महालक्ष्मी ट्रायल सेन्टर र सद्धगुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले पेश गरेको आर्थिक प्रस्तावको फाइल खोलिएको हो। अख्तियारबाट फाइल प्राप्त भएसँगै खोलेर थप प्रक्रिया अघि बढाईएको यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए ।

    ‘अख्तियारबाट फाइनल हामीलाई प्राप्त भएसँगै आज जिल्ला प्रशासनमा दुबै ट्रायल सेन्टरका प्रतिनिधिको उपस्थितिमा फाइनल खोलियो’, भुजेलले भने । अब मुल्यङ्कन समितिले दुई मध्य एकलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्नेछ ।

    अब दुई-तीन दिनमा मुल्यङ्कन समितिको बैठक बस्ने उनले बताए । आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था रहे पनि दुई(तीन दिन भन्दा बढी नलाग्ने उनले बताए । ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित हुनेछ । यसपछि सम्झौता हुने भुजेलले बताए ।

    लगत्तै मेडिकलको पनि टुङ्गो लगाइने उनले बताए । उनका अनुसार यही वर्ष भित्र चितवनबाटै लाइसेन्स वितरण सुरु हुनेछ । ‘अब धेरै समय लाग्दैन । एक दुई महिना भित्र लाइसेन्स वितरणको काम सुरु हुन्छ’, उनले भने ।

    जिल्ला समन्वय समिति (जिसस) को कार्यालय अगाडिको सरकारी अतिथि भवनबाट यातायात कार्यालयले सेवा दिदैछ । कार्यालय सञ्चालनका लागि आवश्यक तयारी भइरहेको भुजेलले बताए । तयारी पुरा भएपछि कोटा छुट्टाएर लाइसेन्सको काम अघि बढ्ने उनले बताए । हाल जिल्लामा ट्रायल सेन्टर नहुँदा काठमाडौं, वीरगञ्ज , हेटौंडा, कावासोती, बुटवललगायतका स्थानमा धाउनुपर्ने स्थानीयको बाध्यता छ ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend