चितवन गार्डेन रिर्साेटको गम्भीर लापरबाही : खानामा भेटियो दिशामा पाइने ब्याक्टेरिया

images
  • 77
    SHARES
  • पौष १, २०७९ शुक्रबार
    चितवन गार्डेन रिर्साेटको गम्भीर लापरबाही : खानामा भेटियो दिशामा पाइने ब्याक्टेरिया
    images

    चितवन, पुष १ –
    चितवन गार्डेन रिर्साेटले चरम लापरबाही गरेको पुष्टि भएको छ । रिर्साेटको खानामा मानव दिशामा पाइने ब्याक्टेरिया ‘ई-कोलाई’ (E-coli) भेटिएको हो ।

    होटलमा अनुगमन गरी त्यहाँ भएका खाद्य पदार्थहरुको ल्याब परीक्षण गर्दा सो कुरा पुष्टि भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    सहायक सिडिओ चिरञ्जीवी शर्माले होटलले सरसफाईमा ध्यान नदिँदा उक्त होटलमा खाना खाएकाहरु बिरामी भएको पाइएको बताए । बिहे भोज खाएका १२० जनाभन्दा बढी सामुहिक रुपमा बिरामी भएर अस्पतालमा भर्ना भएपछि उक्त होटलमा अनुगमन गरी प्रशासनले सिलबन्दी समेत गरेको थियो ।

    अनुगमनका क्रममा उक्त रिर्साेटमा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु भेटिनुका साथै होटलले सरसफाइमा ध्यान नदिइएको पाइएको थियो ।

    आज अनुगमन टोलीले अुगमन प्रतिवेदन तयार पारेको छ र भोलि प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई बुझाइने सहायक सिडिओ शर्माले बताए ।

    उपभोक्त संरक्षण ऐन २०७५ को उल्लंघन भएको पाइएकोले रिर्साेटलाई ३ लाख रुपैयाँ जरीवाना गराई, रिर्साेटमा भएका कमिकमजोरीलाई सुधार गरेपछि मात्र रिर्साेट पुनः सञ्चालन गर्न पाउने गरी निर्णय गर्न सिफारिस गरिएको शर्माले बताए ।
    अब उक्त प्रतिवेदन र सिफारिस हेरेपछि प्रजिअ आस्मान तामाङ्गले आगामि कदम चाल्ने छन् ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा दत्त चापागाईंले बिरामीहरुमा मध्यमखालको ‘ई-कोलाई’  (E-coli) ब्याक्टेरियाको संक्रमण भएको बताए । ‘ईकोलाई’ को कडा खालको ब्याक्टेरिया संक्रमणले मानिसको ज्यानै नै जोखिममा हुने उनले बताए । दिशामा पाइने उक्त ब्याक्टेरिया सरसफाइमा ध्यान नदिँखा खानामा सरेको हुन सक्ने उनले बताए ।

    नवलपुरको गैंंडाकोट १ का गणेश ढकाल र भरतपुर १० की करिष्मा अधिकारीको बिहेमा यही मंसिर २३ गते संलग्न भएका ५२६ जनामा १२० भन्दा बढी बिरामी भएर अस्पताल पुगेका थिए । बिरामीहरुलाई भर्ना गराएरै उपचार गराउनु परेको थियो । फुड् प्वाइजनकै कारण यति ठूलो संख्यामा मानिसहरु बिरामी भएको उपचारमा संलग्न चिकित्सकहरुले बताइ सकेका छन् ।

    भोज खाएकाहरुमा काम ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्याहरु देखिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend