काठमाडौं, पुस २
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
आइओसीले शुक्रबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थियो।
यसअघि मंसिर १६ मा पनि आइओसीले डिजेल प्रतिटिलर ११ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रूपैयाँ मूल्य घटाएर पठाएको थियो तर नेपाल आयल निगमले कुनै पनि इन्धनको मूल्य घटाएको थिएन। जबकि आइओसीले इन्धनको मूल्य बढाएर पठाउनसाथ निगमले स्वचालित मूल्य भन्दै इन्धनको मूल्य तत्कालै बढाउँदै आएको छ।



