२ पुस, विराटनगर
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उनले पुनः मतगणना र पुनः मतदान गर्न नपर्ने बताए ।
निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
‘मरेका मान्छेले भोट हालेका छैनन्’
सामाजिक सञ्जालमा स्याङ्जामा मरेका मान्छेको नामबाट पनि मतदान भएको भन्दै निर्वाचन आयोगको आलोचना भइरहेको छ । स्याङ्जामा मृतकको नामबाट मतदान गरेको विषयमा प्रमुख आयुक्त थपलियाले प्रतिवाद गरे । उनले मरेका व्यक्तिको नामबाट मतदानको सम्भावना नरहेको बताए ।
‘नेपालका कुनै पनि ठाउँमा मरेका मान्छे जिउँदो हो भनेर प्रमाणित गर्ने कुनै राजनीतिक दल छ ?’ उनले भने, ‘त्यहीँ (मतदान केन्द्रमा) बसेको मान्छेले मरेको मान्छे जिउँदो भएर आयो भनेर सही छाप गर्न सक्छ ? यदि सक्छ भने मरेको त्यो मान्छे होइन, हामी मृतक हौं ।’ उनले मरेका मान्छेलाई जिउदो भन्ने र भोट हाल्ने विषय आफूलाई विश्वास नै नलाग्ने बताए ।



