चितवन
लिटिल फ्लावर स्कुल नारायणगढले विभिन्न कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको छ । स्कुलले स्थापनाको २८ बर्ष पुरा गरेको अवसरमा मंसिर २९ र पुष १ गते सांस्कृतिक तथा रचनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो । विगतका बर्ष जस्तै बार्षिकोत्सवलाई निरन्तरता दिंँदै केही फरक किसिमले कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ ।
‘यो हाम्रो नियमित कार्यक्रमको साथसाथै यसले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलाप एवं आफ्नो क्षमता बृद्धि गर्न पनि मदत पुरयाउंँछ, पौडेलले भने, अर्कोकुरा अभिभावक ,शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउंँछ ।’ दुईदिनसम्म चलेको कार्यक्रममा पहिलो दिन ४ सम्मका विद्यार्थीका अभिभावकलाई निमन्त्रणा गरिएको थियो भने दोस्रो दिन ५ कक्षा देखि माथिका कक्षाका अभिभावक सहभागी हुनु भएको थियो ।
कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि लिटिल फ्लावर स्कुलका गोरखपुर प्रान्तका प्रमुख फादर सबु र दोस्रो दिन भरतपुर महानगरपालिका शिक्षा महाशाखा अधिकृत ऋषिराम शर्मा रहेका थिए ।
विशिष्ठ अतिथिमा चुननारायण श्रेष्ठ, र भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास थापा रहेका थिए । कार्यक्रमको अध्यक्षता स्कुलका संस्थापक सदस्य समाजसेवी प्रेमकुमार श्रेष्ठले गरेका थिए ।
प्रमुख अतिथि फादर सबुले स्कुलले झण्डै तीन दशकको अवधिमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गरे । उनले स्कुलको गुणस्तरीय शिक्षामा बृद्धि गर्न आफूले जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
अर्का प्रमुख अतिथि भरतपुर महानगर शैक्षिक महाशाखा अधिकृत शर्माले अबको शिक्षा प्रविधिमैत्री, सूचना मैत्री हुनु पर्नेमा जोड दिए । सूचना प्रविधिको विकास संँगै शिक्षा र सिकाईलाई परिमार्जित गर्दै रोजगारी मुलक बनाउनु पर्ने उनले बताए । भरतपुर महानगरपालिकाका विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्नेमा आफूले सक्दो सहयोग गर्ने उनको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले विगत २८ बर्ष अघि स्थापना भएको यो स्कुलले पूर्वाधार र शिक्षाका गुणस्तरीय ठूलो फड्को मारेको बताए । उनले लिटिल फ्लावर स्कुल चितवनकै नमुना स्कुल भएको बताउंँदै यस स्कुलप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताए । आफूले संरक्षण र सहयोग गर्दै आएको भन्दै स्कुलको प्रगति प्रति आफूलाई गर्व महसुस भएको उनको भनाई थियो ।
विशेष अतिथि चुननारायण श्रेष्ठले शिक्षा विना देशका कुनैपनि क्षेत्रको विस्तार र विकास नहुने भन्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कोरोनाको समयमा पनि स्कुलले आफ्नो दायित्व र धर्मलाई नबिर्सी नियमित कक्षा सञ्चालनको साथै राहतका कार्यक्रमलाई समेत सगैं लगी संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको उनले बताए । वडा अध्यक्ष थापाले आफ्नो वडामा चितवनकै ठूलो र गुणस्तरीय स्कुल स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । उनले शिक्षाको गुणस्तरमा थप वृद्धि गर्दै सबै वर्ग, क्षेत्रका विद्यार्थीहरुले पनि अध्ययन अध्यापनका लागि स्कुलले प्राथमिकतामा राख्नुपर्ने बताए ।



