३ पुस, सिन्धुपाल्चोक
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।
विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए । सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उनको पूर्णकदको सालिक निर्माण गरेको हो ।
अब काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए । ‘राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ’, उहाँले भने ।



