चितवन, पुस ५
आरोपित शिक्षक सुवेदीले विद्यार्थीलाई कम्युटर सिकाउने बहानामा सम्बेदनशिल अंगहरुमा छुने गरेको कलेजकी छात्रा निलम मगरले बताइन् । कक्षा ११ मा अध्ययनरत मगरले भनिन्, ‘एकजना मात्र पीडित भएका होइनन् । कम्प्युटर कक्षा लिने धेरै छात्रा पीडित भएका छन् । नराम्रो तरिकाले सम्बेदनशिल अंगहरुमा छुने गरेको छ । फेसबुक म्यासेन्जरमा नराम्रो म्यासेज गर्ने गरेको पाइएको छ ।’
मगरले बारम्बार कलेज प्रशासनलाई जानकारी गराउदा पनि कुनै कारबाही नभएपछि आन्दोलनमा उत्रिएको नारायणी अनलाइनलाई बताइन् । ‘कलेज प्रशासनलाई सुवेदीलाई कलेजबाट निस्कासन गरियोस् भन्ने माग गरेका थियौं । निकाला गर भन्दा प्रहरी प्रशासन लागेको छ,’ उनले भनिन् । सोही कलेजमा अध्यनरत शुसी तामाङले विद्यालयको सीसी क्यामेरामा कैद भएको प्रमाण कलेजले नष्ट गरेको आरोप लगाइन् ।
आन्दोलित विद्यार्थीहरुले कलेजको प्रतिष्ठा खलबलिने डरले घटना दबाउन खोजेको आरोप लगाएका छन् । कलेजले न्याय दिन्छ भन्ने आशामा घटना भएको चार दिनसम्म आफूहरु चुपलागेर बसेको विद्यार्थीहरुको भनाइ छ । आरोमामा आफ्नो छोरा पढाउँदै आएका गैंडाकोटका रामचन्द्र भट्टराईले घटना एकदमै दुःखद् भएको गुनासो गरे । शिक्षकबाट नै विद्यार्थी जोगाउन गारो भएको दुःख व्यक्त गरे । भट्टराईले घटनाको सही अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’




