आफ्नै नाममा दर्ता भएकाे माेबाइल नम्बर प्रयाेग गर्न टेलिकमकाे आग्रह

images
  • 105
    SHARES
  • पौष ५, २०७९ मंगलबार
    आफ्नै नाममा दर्ता भएकाे माेबाइल नम्बर प्रयाेग गर्न टेलिकमकाे आग्रह
    images

    काठमाण्डौ 

    नेपाल टेलिकमले अरूको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।

    सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज मङ्गलवार विज्ञप्ति निकालेर राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ । 

    मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधा सुरक्षित साथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ । ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएमा आफू स्वयं उपस्थित भइ प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

    ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिम कार्ड लिँदा वा सिम कार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ । नयाँ सिम कार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवम् सम्पर्क नम्बर स्पष्टरूपमा लेख्नुपर्ने जनाइएको छ ।

    स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिम कार्ड उपलब्ध गराइने छ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ । सिम कार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिम कार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिम कार्ड परिवर्तनको फाराम पूर्णरूपमा भरेको–नभरेको जाँचपछि ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिम कार्ड उपलब्ध हुनेछ । 

    ग्राहक स्वयं उपस्थित नभइ अर्को व्यक्तिको नाममा दर्ता रहेको सिम कार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ त्यसको प्रतिलिपि रितपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिम कार्ड परिवर्तन हुन्छ । 

    सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरि लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भइ निवेदन दिन सकिने व्यवस्था रहेको छ । 

    ग्राहक अशक्त भएमा उसको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिम कार्ड उपलब्ध हुने व्यवस्था गरिएको छ ।

    वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्टी गरि सिम कार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend