५ पुस, काठमाडौं
सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता : कानुनी शासनको सुनिश्चितता’ रहेको छ ।
मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
काठमाडौँको राष्ट्रियसभा गृह हलमा तीन दिन हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन् भने सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको सहभागिता हुनेछ ।



