बछौली ।
नेपालमा रहेर थारु समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गरेका श्रीलङ्काका एक जना अनुसन्धानकर्तालाई चितवनका थारुहरुले सम्मान गरेका छन् ।
अनुसन्धानकर्ता डा. अर्जुन गुनेरत्नेलाई मंगलबार ढाका टोपी र थारु समुदायको पहिरन फेटा लगाएर सम्मान गरिएको हो । थारु सङ्ग्रहालयमा भएको कार्यक्रममा नेपाली नामसँगै मिल्दोजुल्दो नाम भएका डा। गुनेरत्नेलाई सम्मान गरिएको हो । सम्मान ग्रहणपछि नेपाली ढाका टोपीमा ठाँटिएका डा. गुनेरत्नेले नेपालीमै सम्बोधन गर्दै नेपाली समुदाय र त्यसमाथि पनि थारु समुदायले दिएको मान्यता र सम्मान कहिल्यै बिर्सन नसकिने बताए ।

करिब ३० वर्षअघि नेपाल आएर पूर्ण छात्रवृत्तिमा थारु जातिको विषयमा अनुसन्धान गरेका डा। गुनेरत्नेले आफूले देखेको मुलुक र नेपालको मौलिकतामा निकै फरक पाएको बताए । त्यसमा पनि थारु जातिले पाहुनालाई गर्ने स्वागतसत्कारबाट आफू निकै प्रभावित भएको बताए । खासमा नेपालको पनि पहाडी भेग र त्यस क्षेत्रमा बसोवास गर्नेहरुका विषयमा अध्ययन अनुसन्धान हुने गरे पनि तराई क्षेत्रमा बसोवास गर्ने समुदायको विषयमा अनुसन्धान कमै हुने गरेकोले थारु जातिकेन्द्रित अनुसन्धान गर्ने रहर जागेको उनले बताए ।

दुई वर्षसम्म चितवनको सौराहा क्षेत्र, दाङको देउखुरी क्षेत्र र कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा बसेर थारुको विषयमा जान्ने र बुझ्ने मौका पाएको उनको भनाइ छ । ‘त्यतिमात्र होइन, पूर्वी तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायको विषयमा पनि बुझ्ने मौका पाएँ’, उनले भने, ‘यसबाट व्यक्ति एक : भाषा र संस्कृति अनेक भन्ने कुरा बुझियो ।’ नेपालमा एउटै जाति र समुदायले पनि ठाउँअनुसार फरक–फरक संस्कृति र परम्परा मनाउने हुँदा त्यसभित्रै सांस्कृतिक तथा पारम्परिक विविधता पाइएको उनको भनाइ छ ।

नेपाललाई त्यसै पनि बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भनेर चिनिन्छ । त्यसभित्र पनि एउटै समुदायभित्र देखिएको विविधताले आफूलाई अनुसन्धानमा थप आकर्षण मिलेको डा। गुनेरत्नेले बताए । आफू श्रीलङ्कामा हुँदा पनि नेपालको लुम्बिनीबारे धेरै सुनेको हुँदा नेपालप्रतिको सद्भाव नजिकबाटै बुझ्न मन लागेको उनले बताए । ‘भगवान् गौतमबुद्ध नेपालमा जन्मिएको हुँदा बुद्धको जन्मस्थानको विषयमा हामीले धेरै सुनेका थियौँ’, उनले भने, ‘अनुसन्धानका क्रममा सुनेको ठाउँ घुम्न पनि पाइयो ।’

श्रीलङ्का र नेपालमा खानाका परिकार र पुरूषले लगाउने पोसाकमा केही समानता भेटिएको समेत उनले बताए । धार्मिक आस्थाका हिसाबले नेपालमा जस्तै श्रीलङ्कामा पनि बौद्ध र हिन्दुधर्म मान्नेहरुको संख्या धेरै रहेको उनको भनाइ छ । तर, तीन दशकअघिको नेपाल र अहिलेको नेपालमा धेरै फरक भइसकेको उनले बताए । ‘दाङतिरको थारुबस्तीमा अहिले पनि करिब–करिब उस्तै पाउँछु, तर चितवनको थारुबस्ती र सौराहा क्षेत्र धेरै फरक भइसकेको रहेछ’, उनले भने, ‘यसले मौलिकता हराउने सम्भावना बलियो बन्दै गएको छ, मौलिकता जोगाउन यहाँका थारु समुदायले ध्यान दिनुपर्छ ।’
थारु कल्याणकारिणी सभा ९थाकस० चितवनका सभापति ललितकुमार चौधरीले भने नेपालको थारु जाति र उसको विगत र वर्तमानबारे विश्वमा चिनाउने अभियानमा लागेको हुँदा डा। गुनेरत्नेलाई कहिल्यै भुल्न नसकिने बताए । ‘थारु जातिलाई विश्वमा चिनाउन समुद्रपारिबाट नेपाल आएर यति ठूलो योगदान दिनुभएको छ’, उनले भने, ‘हामी थारु जातिले नै गर्न नसकेको काम श्रीलङ्काबाट आएर डा। गुनेरत्नेले गरिदिनुभयो ।’
थाकसका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद चौधरीले नेपालमा आएर अध्ययन, अनुसन्धान गर्ने जुनसुकै विदेशी व्यक्तिलाई पनि सम्मान गर्नुपर्ने बताए । नेपालको भूगोल तथा यहाँको वास्तविकताबारे विश्वमाझ चितवनका लागि डा. गुनेरत्नेहरुको योगदान मह¤वपूर्ण रहेको उनले बताए । हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका डा। गुनेरत्ने त्यहीँको एक क्याम्पसमा अध्यापनसमेत गराउँछन् । उनी बेलामौकामा नेपाल आउने र यहाँका थारुबस्तीमा घुम्ने गरिरहेका छन् ।



