६ पुस, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चुनिएको केही घण्टामै सत्ता गठबन्धनका तीन नेताबीच त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेट भयो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निमोनिया भएर मंगलबार मात्र अस्पताल भर्ना भएका थिए । उनलाई भेट्न बुधबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए । उनी निस्कन लाग्दा नेता नेपालले प्रधानमन्त्री देउवा पनि आउँदै गरेको सुनाए र केहीबेर पर्खिन आग्रह गरे ।
त्यहाँ उपस्थितहरुका अनुसार देउवा र प्रचण्ड दुबैले नेता नेपालको स्वास्थ्य अवस्थाबारे चासो राखे । नेपालले स्वास्थ्यमा सुधार भएको र भोलि वा पर्सि डिस्चार्ज हुन सक्ने सुनाए । त्यसपछि नेताहरु नेता नेपाल अस्पतालबाट डिस्चार्ज भएलगत्तै गठबन्धनको बैठक बस्ने र शक्ति बाँडफाँटबारे सहमति खोज्ने सहमति जनाएर उठेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार अब बस्ने गठबन्धनको बैठकमा उनको दलले औपचारिक रुपमा देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राख्ने छ । देउवा निकट नेता लेखक भन्छन्, ‘हाम्रो प्रस्ताव पहिलो चरणमा शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउने हुन्छ ।’
३ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।
गठबन्धनको अर्को घटक माओवादी केन्द्रले पनि पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै आएको छ ।
प्रचण्डको दाबीमा एकीकृत समाजवादीका नेताहरुको पनि समर्थन देखिन्छ । एकीकृत समाजवादीका प्रमुख सचेतक ज्वाला भन्छन्, ‘गठबन्धन कायम राखेर जानेमा कुनै विवाद छैन । पहिलो पालोमा को भन्ने छ । गठबन्धनमा छलफल हुँदा जे सहमति जुट्छ, त्यसअनुसार नै अघि बढछौं ।’
कांग्रेस संस्थापन पक्ष सुरुमा देउवालाई प्रधानमन्त्री बनाएर माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पालो दिने सहमति गर्न तयार देखिएको छ । संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापा भने यसबारे संस्थागत रुपमा छलफल हुनुपर्ने बताउँछन् ।
‘सरकार चलाउने सन्दर्भमा अर्को पार्टीसँग आलोपालो गर्ने कुनै समझदारी संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ’, उनले भने, ‘योभन्दा अगाडिका समयमा जस्ता बन्द कोठामा बसेर आलोपालो गर्ने सहमति गर्नुहुन्छ भने कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न ।’
नेताहरु पनि प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखमा पनि प्याकेजमा सहमति खोज्नुपर्ने बताउँछन् ।
राष्ट्रपतिमा कांग्रेससँगै एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेस नेताहरु १० सिट जितेको एकीकृत समाजवादी होइन, ३२ सिट भएको माओवादी केन्द्रलाई पनि राष्ट्रपति पद छाड्न तयार देखिएको छैन ।
कांग्रेसले राष्ट्रपति पाएको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । एकीकृत समाजवादीमा भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल आकांक्षी छन् । तर इलाम १ मा प्रतिनिधिसभा चुनाव हारेका उनी राष्ट्रपति बन्ने सम्भावना कम रहेको नेताहरु बताउँछन् ।
शक्ति बाँडफाँटबारे प्याकेजमा सहमति खोज्ने र साना दलहरुको समर्थनमा बहुमत (१३८ सांसद) जुटाएर सरकार गठनका लागि दावी पेश गर्न गठबन्धनका दलहरुलाई चार दिनको मात्र समय छ । किनकी प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समय १० गते साँझ ५ बजे सकिनेछ ।



