५ कार्तिक । बाढी पहिरो प्रभावित क्षेत्रमा शुद्ध पानीको अभाव भएको छ । जसले गर्दा प्रभावित क्षेत्रमा पानिजन्य रोगको जोखिम समेत बढेको छ । बेमौसमी वर्षाका कारण बाढि र पहिरोको चपेटामा परेका नागरिक पानीजन्य रोगको जोखिममा छन् । झाडापखाला, हैंजा, आउँ, डेङ्गु, मलेरिया, टाइफाइड र छाला सम्बन्धी रोग पानीका कारण लाग्न सक्छ ।

प्रभावित क्षेत्रमा खाना र ओतको टुङ्गो छैन भने खानेपानीका मुहान पहिरोले बगाएको बझाङको थलरा गाउँपालिकाका प्रभावित धन बहादुर विष्ट बताउनुहुन्छ । बेमौसमी वर्षापछि आएको बाढी र पहिरोले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको छ । वेपत्ता भएका व्यक्तिको खोज, बगाएका सडक लगाएतका संरचनाको पूर्ननिर्माणमै केन्द्रित हुनुपरेकाले पानीजन्य रोगका विषयमा काम हुन नसकेको पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताउनुभयो ।
बाढी र पहिरोका कारण फैलिने दुर्गन्ध र पिउने पानीको श्रोत दुषित भएको अबस्थामा सरुवा रोग फैलिन्छ । नजिकको सरकार स्थानीय तहले पानीको श्रोत निर्मलीकरण गर्न, पानीको स्वच्छतामा ध्यान दिन सके पानीजन्य रोग फैलिनबाट रोक्न सकिने डाक्टर आमोघ बस्न्यातको भनाइ छ ।
सरुवा रोगको सम्वाहक मानिने विभिन्न जिवाणु पानीमा आश्रीत हुने भएकाले आफ्नो घरवरपर पानी जम्न नदिन, सरसफाईमा ध्यान दिन पनि चिकित्सकहरु सुझाउँछन् । ५ देखि १० मिनेटसम्म उमालेर, थिग्राएर घाममा राखेर, पानी शुद्धिकरण गर्ने पियुस लगायतका औषधि प्रयोग गरेर वा अन्य विधिबाट निर्मलीकरण गरेर पानी शुद्ध बनाउन सकिन्छ ।



