७ पुस, काठमाडौं
बिहीबार प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले थप शपथग्रहण गरेका छन् । अर्थात् संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा भन्दा उनीहरुले एक वाक्य थप शपथ लिए ।
राप्रपाका सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य पढेर हस्ताक्षर गरी संघीय संसद सचिवालयमा बुझाएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ मा पनि यही भनेर थप शपथ लिएका थिए । उनले यसपटकको शपथपछि उनले फेसबुकमा लेखेका छन्, ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।’
राप्रपाबाट संसदमा लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली निर्वाचित भएका छन् ।



