देवघाट ।
अस्मिता भुजेल उमेरले आठ वर्षकी भइन् । शारिरीकरूपमा अशक्त उनलाई एकवर्षअघि आमाले पनि छाडेर गइन्, जसले गर्दा हजुरआमाको साहरामा बाँचिरहेकी छिन् उनी । के घाम, के पानी, के जाडो, के गर्मी टिनको टहरोमुनि रेडियोमा बजेको आवाजको भरमा घरि निदाउँछिन्, घरि ब्युँझिन्छिन् ।
तर, लडेको मुडासरहकी अस्मिता आँखा देख्दिनन् । एउटा कान पनि सुन्दिनन् । आफ्नै शरीरसमेत चलाउन नसक्ने गरी एकोहोरो लडिरहन्छिन् । उनलाई भुलाउन हजुरआमाले कानैमा रेडियो बजाइदिन्छिन् । त्यसैको साहारामा हजुरआमा बिमाया घरवरिपरिको काममा निस्किन्छिन् ।
उमेर बढ्दै गए पनि व्यवहार परिवर्तन नआएपछि परिवार चिन्तामा छ । जन्मिएको केही दिनपछि टाउको बढ्दै जाँदा अहिले उठाउनै नसक्ने गरी ठूलो भएको छ । हातखुट्टा भने साना छन् । अहिले उनलाई उठाउने, सुताउने, खुवाउनदेखि सरसफाइ गर्नेसम्म सबै हजुरआमाले नै गरिदिन्छिन् ।
सामान्य ज्यालादारीको भरमा परिवार चलाउँदै आएको भुजेल परिवारलाई नातिनीको अवस्था यस्तो भएपछि झन् समस्या परेको छ । अस्मिताको स्याहारसुसारमा घरका एक जना अनिवार्य खटिनुपर्ने बाध्यता छ ।
हरेक दिन दूध खुवाएर राख्नुपर्दा अर्को समस्या थपिएको विमायाले गुनासो गरिन् । आफ्नो घरमा दुहुनो छैन, सधैँ किनेर खुवाउनुपर्छ,’ उनी भन्छिन्, ‘दूध र आँटाबाट बनाएको लेदोबाहेक केही खान सक्दिनन् ।’ ठूली भइसकेकी नातिनीलाई काखमा लिएर खुवाउँदा दुई घण्टा समय बित्छ । नातिनीको यस्तो अवस्था देख्दा बिमाया बेलाबेला भक्कानिन्छिन् ।
‘पैसा भए पनि एकपटक अस्पताल लगेर देखाउँथेँ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘तर, के गर्नु आफ्नै पेट कसरी पाल्ने भन्ने भइरहेको बेला अस्पतालसम्म लैजाने कुरा सपना मात्रै हो ।’ घरमा भएकाले पनि ज्यालादारी नगरी उपाय छैन । त्यसैले अस्मिताका बुबा, हजुरबुबा सबै ज्यालादारीमा निस्कन्छन् । तर, त्यसले परिवार पाल्न पनि नपुग्ने हुँदा समस्या भएको विमायाको भनाइ छ ।
देवघाट गाउँपालिकाको वडा नं.५ मा पर्ने साउने गाउँमा अधिकांश भुजेल समुदायको बसोबास छ । गाउँमा सबैको अवस्था उस्तै छ । गाउँका सबैको आर्थिक स्थिति उस्तै भएकोले दायाँबायाँबाट रेखदेख गरिदिने पनि कोही नभएको उनी बताउँछिन् ।



