काठमाण्डाै –
इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।
केरलाकाे काेचीमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा २४ वर्षीय करनलाई पन्जाब सुपर किङ्ग्सले १८ कराेड ५० लाख भारु (२९ करोड ५० लाख रुपैयाँ) मा अनुबन्ध गरेकाे हाे । उनकाे 'बेस प्राइस' दुई कराेड भारु थियाे । यसअघि उनी चेन्नई सुपर किङ्ग्समा आबद्ध थिए । सन् २०१९ मा करनले पन्जाबबाटै खेलेका थिए ।
यसअघि आईपीएल अक्शन इतिहासमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस माेरिस सर्वाधिक महँगा खेलाडी बनेका थिए । सन् २०२१ काे अक्शनमा उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।
२३ वर्षीय अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीन दाेस्राे नम्बरमा छन् । उनलाई मुम्बई इन्डियन्सले १७ कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे छ । उनी पहिलाे पटक आईपीएलकाे हिस्सा बनेका हुन् ।
यस्तै इङ्ग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक तेस्राे नम्बरमा छन् । २३ वर्षीय ब्रुकलाई सनराइजर्स हैदराबादले १३ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे छ । उनी पनि पहलाे पटक आईपीएलकाे हिस्सा बनेका हुन् ।



