बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते, अरू सांसदको शपथ भाेलिपल्ट

images
  • 94
    SHARES
  • पौष ८, २०७९ शुक्रबार
    बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते, अरू सांसदको शपथ भाेलिपल्ट
    images

    मकवानपुर 

    बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण यही पुस १३ गते बुधवार हुने भएको छ । त्यसको भोलिपल्ट अर्थात् पुस १४ गते बिहीवार प्रदेश सभाका अरू सदस्यको शपथ ग्रहण हुने भएको छ । 

    आज शुक्रवार बिहान प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसाे २ बजे प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिनुभयाे । 

    शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारी पूरा गरेको जानकारी गराएको छ । प्रदेश सभाको पुरानै भवन मर्मत गरेर फेरि दोस्रो कार्यकालका लागि प्रदेश सभा बैठक बस्न लागेको हो । 

    प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गानाले अरू सांसदलाई शपथ गराउनु हुने छ । त्यसभन्दा अघि उहाँले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष शपथ ग्रहण गर्नुहुने छ । 

    प्रदेश सभाका एक सय १० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा ढुङ्गानालाई प्रदेश प्रमुखले शपथ गराउनु हुने छ। ढुङ्गानाले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आउँदाे अधिवेशनको सुरुवात गर्नु हुने छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । त्यहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट निर्वाचित ढुङ्गानाले प्रदेश सभाको आउँदाे अधिवेशनको बैठक सञ्चालन गर्नु हुने छ ।

    निर्वाचन आयोगले प्रदेश सभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ढुङ्गाना ७२ वर्षकाे हुनुहुन्छ । उहाँको जन्म २००६ साल असोज २ गते भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend