भरतपुर, ९ पुस
आख्यानकार रामलाल जोशीको नयाँ पुस्तक `बाआमा´का बारेमा चितवनमा अन्तरक्रिया गरिएको छ । पुस्तकको तेस्रो संस्करण सार्वजनिक गर्दै चितवनमा पुस्तकका बारेमा छलफल गरियो ।
चितवन साहित्य परिषद् नारायणगढले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्राध्यापक डाक्टर महादेव अवस्थी, लेखक रामलाल जोशी, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, कवि गोविन्दराज विनोदी, समीक्षक उदय अधिकारी र प्रकाशक बुकहिलका प्रमुख भुपेन्द्र खड्काले नयाँ संस्करण सार्वजनिक गरेका हुन् ।
पुस्तकमाथि बोल्दै समीक्षक उदय अधिकारीले बाआमा पुस्तकमा लेखक जोशीले आञ्चलिकतालाई प्रमुखताका साथ महत्त्व दिएको बताए । अधिकारीले जोशीका अघिल्ला कृतिहरू ऐना र सखीको पनि चर्चा गर्दै बाआमामा पश्चिम नेपालको समाजको चित्रण गरिएको बताए ।
प्रमुख अतिथि प्राडा महादेव अवस्थीले लेखक, सम्पादक र प्रकाशकको मेहनतले राम्रो कृति आउन सहयोग पुग्ने बताए । बुकहिलका भुपेन्द्र खड्काले जोशी नेपाली साहित्य जगतको स्थापित लेखक भएको र स्थापित लेखकका कृति बजारमा पठाउन सजिलो हुने बताए । कार्यक्रममा धनराज गिरी, केदारनाथ खनाल, गायत्री श्रेष्ठ, सुरेन्द्र अस्तफललगायतले बोलेका थिए ।



