प्रचण्डले कांग्रेसजस्ताे लचिलाे पार्टी त मिलाउन सक्नुभएन, ७ दल कसरी मिल्लान् ? : कांग्रेस नेता विश्वकर्मा

images
  • 72
    SHARES
  • पौष १२, २०७९ मंगलबार
    प्रचण्डले कांग्रेसजस्ताे लचिलाे पार्टी त मिलाउन सक्नुभएन, ७ दल कसरी मिल्लान् ? : कांग्रेस नेता विश्वकर्मा
    images

    काठमाण्डाै –

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गर्नुभएको छ । कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले सात वटा राजनीतिक पार्टीलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो । 

    आज मङ्गलवार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वासकाे मत लिएकाे खण्डमा प्रचण्ड नेतृत्वको सरकार दुई वर्षसम्म चल्ने अनुमानसमेत गर्नुभयो । सङ्घीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘अहिलेकाे सरकारलाई समर्थन गर्ने सांसदकाे सङ्ख्या १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरू हेर्ने हो भने सात वटा दल छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्त छन् भनेकाे छ । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौँ भनेकाे छ । उहाँहरूको राजा आऊ, देश बचाऊ होला । राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गइहाल्यो । उहाँहरूले प्रदेशमा उम्मेदवारी उठाउनुभएको छैन । किनभने उहाँहरूलाई प्रदेश सरकारप्रति विश्वास छैन । सङ्घीयताप्रति भरोसा नै छैन । यत्रो ८/९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको भनेर रवि लामिछानेले भन्नुभएको छ । अनि अरू दलहरू पनि त्यस्तै–त्यस्तै क्षेत्रीय दलहरू छन । अब ती सबै दललाई मिलाएर जान प्रचण्डजीलाई चुनाैती छ । उहाँले आफूलाई केन्द्रमा राखेर कांग्रेसजस्तो लचिलो पार्टी त मिलाउन सक्नुभएन भने यी सबै दल कसरी मिल्लान् र ! राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ ।’

    कार्यक्रममा बोल्दै सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसाबले सत्तारूढ गठबन्धनको सरकार बनेको र यो सहज ढङ्गले अघि बढ्ने बताउनुभयो । उहाँले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताउनुभयो । 

    अर्का सत्तारूढ माओवादी केन्द्रका नेता दीनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताउनुभयो । उहाँले विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने गरी जनादेश आएकाले त्यहीअनुसार आफूहरू अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend