भरतपुर ।
गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्था तमू प्ये ल्हू संघ चितवनले तमू ल्होसार पर्व मनाएको छ । भरतपुर–११ स्थित नौरंगेमा भव्य कार्यक्रम आयोजना गरेर पर्व मनाएको हो । प्ये ल्हू संघ चितवनले हरेक वर्ष पुस १५ भन्दा अगाडि नै ल्होसार मनाउँदै आएको छ ।
पुस १५ गते विशेष दिन भए पनि त्यस दिन धेरै ठाउँमा कार्यक्रम हुने भएकोले प्ये ल्हू संघले १५ गतेभन्दा अगाडि नै ल्होसार मनाउँदै आएको संघका अध्यक्ष लालप्रसाद गुरूङले जानकारी दिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।
कलाकारहरू, सूचना गुरूङ र तिलक गुरूङमार्फत गुरूङ भाषामा सांगितिक प्रस्तुति दिएका थिए । साथै स्थानीय कलाकारहरूले प्रत्यक्ष संगीतमा दोहोरी गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । संस्थाको हरेक कृयाकलापमा योगदान दिने व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । प्ये ल्हू संघको जिल्ला समितिले ल्होसार बुधबार नै ल्होसार मनाए पनि इकाइ समितिले १५ गते आफ्नो क्षेत्रमा ल्होसार मनाउने संघका सचिव नारायण गुरूङले जानकारी दिए । चितवनमा प्ये ल्हू संघको इकाइ समितिको संख्या २७ पुगेको छ ।



