१४ पुस, विराटनगर
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् ।
बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
उनले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थिरता देओस्’ डा. शेखरले भन
दलको चुनावअघि मिलाउने प्रयास
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताको निर्वाचनअघि डा. शेखर विराटनगर पुगेका हुन् । सहमतिको प्रयास सफल नभएपछि दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ । बिहीबार कोइरालाले सांसदहरुलाई बोलाएर सहमतिको प्रयास गरेका छन्, तर उनको प्रयास सफल भएन ।
कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा पक्षबाट अमृत अर्याल, शेखर पक्षबाट केदार कार्की, कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा दाबेदार छन् । सिटौला पक्षकै भीम पराजुलीले यसअघि दलको नेतामा दावी गरे पनि उनी पछिल्लो समय मौन छन् ।
कांग्रेसका निर्वाचित सांसदलाई बधाई दिन भन्दै नेता कोइरालाले घरमा बोलाएका थिए ।



