तनहुँ, पुस १४
जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आउनुभएको छ ।
विसं २०५३ देखि सुन्तला खेती थाल्नुभएका उहाँले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गर्नुभएका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो ।
सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उहाँले बताउनुभयो ।
“सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महसुस हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउँदै उहाँले भन्नुभयो, “सुन्तला खेती गर्न गाह्रो पनि छैन, वर्षमा छ महिना जति हेरचाह गर्ने हो भने वर्ष दिनमा मनग्य आम्दानी लिन सकिन्छ ।”
सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उहाँले बताउनुभयो । फेरि सरकारले कृषिलाई विभिन्न अनुदानसमेत दिन थालेको छ । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, यसबाट सन्तुष्ट छु ”उहाँले भन्नुभयो । राजनीति र समाजसेवालाई सँगसँगै हाँक्नुभएका उपाध्यक्ष घिमिरेले उहाँले सुन्तला खेतीको साथै इँटाभट्टाको कारखानासमेत खोलेर सयौँलाई रोजगारी दिँदै आउनुभएको छ । “हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफैँ अग्रसर बन्नुपर्छ”, उहाँले भन्नुभयो । रासस



