प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

images
  • 56
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ
    images

    १९ पुस, काठमाडौं

    नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् ।

    लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो ।

    मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

    ‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो । उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो । उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ,’ यादवले संक्षिप्त जानकारी दिदै भने ।

    २०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

    काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए ।

    साहले भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै चुनाव जितेका थिए । र आफू निकटलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । तिनै स्वतन्त्रहरुलाई साथ लिएर साहले आम जनता पार्टी गठन गरेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend