विकास खर्च बढाउन भौतिकमन्त्रीसँग परिसंघको माग

images
  • 75
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    विकास खर्च बढाउन भौतिकमन्त्रीसँग परिसंघको माग
    images

    १९ पुस, काठमाडौं

    नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्दै विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले श्रेष्ठलाई भेट्दै यस्तो माग गरेको हो ।

    अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिए । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनको भनाइ छ ।

    अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन, एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए ।

    उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ।

    परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

    परिसंघको सुझाव सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताएका थिए । उनले समस्या समाधान गर्दै अगाडि बढ्ने आश्वासन दिएको परिसंघले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend