१९ पुस, धनगढी
सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको बैठकले कुनै निष्कर्ष दिन सकेन । कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारीसहितको बैठकमा ६ जनाले दलको नेताका लागि आफ्नो दाबी रहेको बताएका थिए ।
प्रदेश महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले पदाधिकारीको बैठकमा दलको नेताका आकांक्षीहरुले आआफ्नो धारणा राखेको बताए । संसदीय दलको नेतामा खड्का, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट र प्रकाश देउवाले आकांक्षा राखेका छन् ।
बैठकमा सहभागी एक जना प्रदेशसभा सदस्यकाअनुसार आकांक्षीहरुलाई एक जनाको नाममा सहमति गर्न भनिएको थियो तर उनीहरुबीच सहमतिको वातावरण नबेपछि बैठक टुंगिएको थियो ।



