चितवन, पुस १९
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन् ।
भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले विसं २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन् ।
‘भरतपुर लगानीकर्ताको आर्कषणको केन्द्र बनेको छ’, उनले भनिन्,‘यहाँ तारे होटल खुलेका छन्, सुविधा सम्पन्न होटल र रिसोर्ट खुल्ने क्रम पनि जारी छ । पर्यटन गतिविधिका साथै राजगारी पनि सिर्जना भएका छन् ।’
मेयर दाहालले स्थानीय सरकारको हैसियतले पर्यटन तथा होटल व्यवसायीसँग समवन्य गर्दै अघि बढ्ने अभ्यास महानगरपालिकाले गर्दै आएको र भावी दिनमा पनि सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । भरतपुरको दिगो ढंगबाट पर्यटन प्रर्वद्धन गर्न महानगरपालिका सधै सबै क्षेत्रसँग समन्वय, सहकार्य र छलफल गरी अघि बढ्ने पनि उद्घोष उनले गरिन् ।





