आत्महत्या दुरुत्साहन अभियोगमा १ वर्ष कैद सजाय पाएका व्यक्ति फैसला आएकै दिन जेलमुक्त

images
  • 91
    SHARES
  • पौष २०, २०७९ बुधबार
    आत्महत्या दुरुत्साहन अभियोगमा १ वर्ष कैद सजाय पाएका व्यक्ति फैसला आएकै दिन जेलमुक्त
    images

    २० पुस, बागलुङ

    निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा उनका जेठाजु थम्मनबहादुर मल्ललाई जिल्ला अदालत बाग्लुङले १ वर्ष कैद सजाय भएको छ ।

    मल्ल सजाय फैसला भएकै दिन कैद मुक्त भएका छन् ।

    सम्झना २०७६ असोज २२ गते राति झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

    सम्झानाका दाजु तुलबहादुर शाहीले बहिनीका जेठाजु थम्मनबहादुर, मेघध्वज र जेठानी मिठुकुमारी मल्ल विरुद्ध बहिनीलाई कुटपिट गरि झुण्डाएर हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

    जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस १९ गतेको अन्तिम आदेशले आंशिक अभियोग दाबी पुग्ने भन्दै थम्मनलाई कैदसँगै २५ हजार जरिवाना फैसला गर्‍यो । मेघध्वज र मिठुलाई भने अदालतले सफाइ दियो ।

    अदालतले हत्या अभियोगमा थम्मन, मेघध्वज र मिठुले सफाइ दिए पनि थम्मनबहादुरलाई भने आत्महत्या दुरुत्साहनमा दोषि ठहर गरेर कैद साजाय फैसला भएको जिल्ला अदालत बागलुङका श्रेष्तेदार सूर्यप्रसाद भण्डारीले बताए ।

    प्रहरीले आरोपित तीनै जनालाई २०७८ पुस १५ गते पक्राउ गरी ०७८ माघ १० गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

    अदालतको ०७८ माघ १५ गतेको आदेशले थम्मन र मेघध्वज पुर्पक्षको लागि थुनामा रहेका थिए भने मिठु ३ लाख ५० हजार धरौटिमा छुटेकी थिइन् ।

    अदालतले थम्मनलाई १ वर्ष कैद सजाय फैसला गरे पनि पुर्पक्ष र अनुसन्धानको क्रममा बसेको हिरासतको समय जोड्दा सजाय भुक्तान भइसकेको छ ।

    त्यसैले उनी सजाय निर्धारण भएकै दिन कैद मुक्त भएको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend