२१ पुस, काठमाडौं
लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला-४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन् ।
पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका उनले काठमाडौँ पहिलोपटक भ्रमण गरेकोसमेत बताए । ‘पुरस्कार पाएको छु । आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ’, उनले भने ।
डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गरे । ‘राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन । उहाँलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो’, विष्टले भने ।
काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।
राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए । उनले भने, ‘भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ । जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन।’



