२१ पुस, काठमाडौं
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनलाइनखबरलाई बताए ।
उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् ।
मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने भनिएको छ । ‘विगतमा राष्ट्रिय परिचय पत्र र पासपोर्ट लिनेको लाइन लाग्यो भनेर धेरै गुनासो आयो, त्यसैले यसको व्यवस्थापनका लागि यो निर्णय गरिएको हो’, उपाध्यायले भने, ‘अझै सुधारका ठाउँहरु छन्, यो पहिलो प्रयास हो ।’



